सरकारले भन्यो– चीनसँग सीमा समस्या छैन

-


     मर्दी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


नेपाल र चीनबीच सीमा समस्या नभएको परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका हुन् ।

उनले हुम्लाको लिमी उपत्यकामा सीमा मिचेर घर बनाएको समाचार २०७३ सालमा पनि आएको बताए।
त्यति बेला पनि सरकारले गृह, परराष्ट्र नापी सहितको छानविन समिति बनाएको र टोलीले स्थलगत अध्ययन गरेको उनले जनाए ।

उनले अहिले हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली स्थलगत भ्रमणमा रहेको र सो टोलीले कुनै नयाँ कुरा ल्याए त्यस विषयमा जानकारी गराउने बताए।

मन्त्री ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको बताए ।

त्यसैगरी सरकारले इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यलाई अख्तियारी दिइएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।