ट्रेकिङ गाइड तथा पर्यटन श्रमिकहरुले गरे पदमार्गको सरसफाइ

-


     मर्दी न्युज    
     असाेज ११ गते २०७७ मा प्रकाशित


पोखरा । ४१ औं सामाजिक सेवा दिवसको अवसर तथा बिश्व पर्यटन दिवसको पुर्वसन्ध्यामा पोखरा महानगरपालिका वडा नं. १८ को सेदिदेखि सराङ्गकोटसम्मको पदमार्ग सरसफाइ गरिएको छ।

कर्मफ्लाइट्स एड्भेन्चर एन्ड ट्रेक्स नेपालको आयोजना, ट्रेकिङ विथ प्रपोज अस्ट्रेलियाको आर्थिक सहकार्य, पोखरा महानगरपालिका वडा नं १८ को संयोजन तथा मर्दीन्युज पोखराको मिडिया सहकार्यमा हिजो शनिवार उक्त कार्यक्रम संपन्न गरिएको हो।

विभिन्न जिल्लाबाट पोखरा आइ पोखरालाई नै कर्मथलो बनाएका ३० जना (महिला तथा पुरुष) गाइड तथा श्रमिकहरुले सेदि देखि नै प्लाष्टिकजन्य फोहोर टिप्ने र उचित ब्यबस्थापन गर्ने, ट्रेकिङ हिड्ने बाटो आसपासका झाडी, काँडाका झ्याङ फांड्ने, बर्खाको कारण बिग्रेका सिढीहरु मिलाउने लगायतका कामहरु गरेका थिए। स्वतस्फूर्त रूपमा आफैंले हंसिया, खुकुरी, कोदाली तथा गैचीजस्ता घरेलु औजारले सुसज्जित भएर आएका गाइडहरुले कामगर्दा छुट्टै किसिमको रौनक छाएको थियो भने स्थानीय बासिन्दाहरु ले समेत उत्सुकता पुर्बक हेर्दै कामको प्रसंशा गरेका थिए।

कोभिड–१९ को महामारी तथा नेपाल सरकारले गरेको बन्दाबन्दीको कारण २०७६ चैत देखिनै सम्पूर्ण पर्यटकीय गतिविधि समेत ठप्प छन। नेपाल को अर्थतन्त्र तथा आर्थिक गतिविधिमा ठूलो टेवादिने पर्यटन क्षेत्रका श्रमिकहरु को जिवनयापन अथवा दैनिकी एकदम कष्टकर बन्दैगएको र कतिपय लाई त छाक टार्न धौ धौ परेको भएपनी सरकारी तवरबाट र सरोकारवाला निकायबाट राहत तथा अन्य सहयोगको कुनै पहल भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन।

छोटो औपचारिकता का साथ सुरुवात गरिएको सो कार्यक्रममा शुभकामना मन्तव्य दिदै पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापाले सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेलेको कर्म फ्लाइटसले आपतबिपतको बेला समाजलाई पुर्याएको सहयोग साथै गरिब, बिपन्न परिवारहरुलाई शिक्षा क्षेत्रमा पनि सक्दो सहयोग गरेको स्मरणगर्नु भयो।

कर्म फ्लाइटस फाउन्डेसनका उपाध्यक्ष लक्ष्मण थापाले आफ्नो छोटो भनाई राख्दै आजको सरसफाइ कार्यक्रम सफलताको शुभकामना दिनुभयो।

‘खाध्यान्नको लागि काम’ शिर्षकबाट सम्पुर्ण गाइड तथा श्रमिकहरुलाई प्रोत्साहन रकम प्रतिब्यक्ती एकहजार चारसय रुपैयाँको दरले जम्मा बयालीस हजार रुपैयाँ बितरण गर्दै कर्म फ्लाइटस फाउन्डेसनका निर्देशक प्रेमबहादुर कुंवरले पदमार्ग सरसफाइ गर्न गाइड तथा भरिया साथीहरूको सकृय उपस्थितिले अब हामी सबै मानसिक रूपमा ट्रेकिङको लागि सेवादिन तयार रहेको सकारात्मक संदेश जानेकुरा बताउदै आउनेदिन हरुमा पनि यस्ता कार्यक्रम ल्याउन सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले आगामी कार्तिक २ गतेदेखि ट्रेकिङ ब्यबसाय सुचारुगर्ने नेपाल सरकारको योजना रहेको परिप्रेक्ष्यमा ट्रेकिङ कम्युनिटीहरुलाई सांकेतिक रूपमा भएपनि यो कार्यक्रमले सकारात्मक उर्जा थप्ने बिश्वास व्यक्त गर्नुभयो।

दिगो पर्यटन तथा जैविक बिबिधताको बारेमा कलम चलाउने तथा पक्षपोषण गर्ने मर्दीन्युजको तर्फबाट शेषकान्त शर्माले आफ्नो भनाइ राख्नुभएको थियो।