घोल कस्दरीले काठमाडौं उपत्यकामा १८ वर्षपछि दोस्रोपटक बच्चा कोरल्यो

-


     मर्दी न्युज    
     असाेज १४ गते २०७७ मा प्रकाशित


तस्विरः गोपी श्रेष्ठ

पोखरा । सन् २००२ मा काठमाण्डौं उपत्यकाको लाजिम्पाटमा पहिलो पटक बच्चा कोरलेको भेटिएको (मल्ललियु २००८) घोल कस्दरीले १८ वर्षपछि दोस्रोपटक उपत्यकामा बच्चा कोरलेको अभिलेख गरिएको छ ।

पंछी अवलोकनका क्रममा पंछीविद तथा पर्यटनकर्मी गोपी श्रेष्ठले यहि सेप्टेम्बर २० तारीखका दिन घोल कस्दरी (Ruddy-breasted Crake) काठमाडौंको मनोहरा खोला छेउको धान खेतमा विचरण गर्दै गरेको अवस्थामा भेटेका थिए ।

तराईका क्षेत्रहरु विशेषगरी कोशी टप्पु वन्यजन्तु आरक्ष, शुक्लाफॉंटा राष्ट्रिय निकुञ्ज तथा चितवन राष्ट्रिय निकुञ्जमा प्रचुरमात्रामा देखिने स्थानीय रैथाने प्रजातिको यो चरा अन्य स्थानमा निकै कम भेटिएका छन् ।

समुद्री सतहदेखि १२८० मिटर सम्म ग्रिष्मयाममा विरलै पुग्ने यो प्रजाति कैलालीको घोडाघोडी तालमा (सिसुडब्लुयन र विसियन २०१२), बाँकेको नेपालगञ्ज (बराल १९९२), रुपन्देहीको लुम्बिनी (बराल १९९४) र कास्कीको पोखरा (घर्तिमगर टी बि र घिमिरे यम २०१२ तथा घिमिरे यम र घले जी बि २०१५) मा समेत भेटिएको छ ।

१९ औं शताब्दीमा ब्रायन हड्सनले नेपालको लागि पहिलो पल्ट अभिलेख गराएको यो प्रजाती (हडसन १८४४) लाई वन्यजन्तुको पनि फोटाहरु खिच्ने श्रेष्ठले सर्पले भ्यागुता खाँदै गरेको फोटो खिच्ने क्रममा सोही धान खेतमा यो प्रजातीको एक जोडी देखेका थिए ।

साह्रै लजालु स्वभावको यो प्रजाती एक पटक धान खेतभित्र छिरेपछि करिब आधा घण्टासम्म बाहिर ननिस्केको र खेतकै छेउमा लुकेर बस्दा पछि खेत बाहिर निस्केको र त्यहिबेला रेकर्ड फोटो खिच्न भ्याएका थिए पंछीबिद श्रेष्ठले ।

बिस्तारै चरनका लागी धानखेत बाहिर-भित्र गर्ने क्रम चल्न थालेपछि र खेत भित्र छिर्दा साना बच्चाहरूको आवाज आएपछि बच्चालाई फिडिङ गराएको जस्तै लागेको र केहि क्षणमा एउटा बचेरोनै बाहिर निस्केपछि उक्त क्षेत्रमा बच्चा कोरलेको पुष्टी भएको थियो ।

उपत्यकाकै साली नदी क्षेत्रमा यो प्रजातिको अभिलेख (चौधरी एच २०१६, २०१८) गरेयता सम्भबत यस उचाईमा फेरी बच्चा कोरल्ने अनुमान लगाउनु भएको थियो पंछीबिद हठन चौधरीले तर यथस्ट प्रमाणहरू भेटिएका थिएनन ।

यस बारेमा संक्षिप्त कुरा गर्दा उपत्यकाको लागी पहिलो पल्ट अभिलेख गराउने बरिष्ठ पंछीबिद डा. हेमसागर बराल तथा नेपाल पंछी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरूङ यस प्रजातिको अोभरलुक भएको हुन सक्ने र अन्य स्थानमा पनि देख्न सक्ने धारणा ब्यक्त गर्नुहुन्छ ।

पछिल्लो समयमा देशमा चरा अवलोकनकर्ता, अनुसन्धानकर्ता र वाइल्डलाइफ फोटोग्राफर हरू बढ्ने क्रम सँगै चराका प्रजातिहरूको स्थान बिशेष नयाँ अभिलेखहरू भइरहेका छन् ।