
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबार सम्मलाई हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिए ।
बुधवारको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा, तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ तथा इश्वरप्रसाद खतिवडा रहेका थिए ।
नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।