थप २२५३ जनामा कोरोना संक्रमण, १३२९ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


पोखरा, १८ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २२ हजार २ सय १९ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण भएको छ ।

आइतबारसम्म क्वारेन्टाइनमा ४ हजार २ सय ३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ३ सय २९ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ रहेको प्रवक्ता डा गौतमले बताए ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा ७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।