
फोटो: मनशान्त घिमिरे
पदयात्रा पर्यटक सूचना ब्यबस्थापन प्रणाली (टिम्स) को संबन्धमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का बीच मिति २०७१ चैत ५ गते भएको समझदारी अनुसार पर्बतिय पर्यटन मजदुर कल्याणकारी कोषको ब्यबस्था गरेको थियो ।
कोरोनाका कारण थलिएको पर्यटन ब्यबसाय तथा बेरोजगारीको जातोमा पिल्सिएका पर्यटन मजदुरहरुलाई ७ महिना लामो बन्दाबन्दि (पुर्ण र आंशिक) को अबधिमा सरकारले कुनै ठोस योजना तथा कार्यक्रम ल्याएर सम्बोधन गर्न सकेन ।
बेलामौकामा मजदुर संगठनहरुले सामान्य सोधपुछ गरेपनि मजदुर कल्याणकारी कोषमा कति रकम छ र कसरी उपयोग भएको छ भन्नेबारेमा खासै चासो दिइएको थिएन ।
कोरोनाका कारण प्रभावित पर्वतिय पर्यटन मजदुरहरुलाई गोलबन्द गर्दै प्रकाश घायल राईको नेतृत्वमा संगठित भएको पर्यटन मजदुर संघर्ष समितिले बिगत केहि महिनादेखि माइतीघर मन्डला मा जुलुस प्रदर्शन तथा नेपाल पर्यटन बोर्डको कार्यालय परिसर भृकुटीमण्डपमा गरेको तालाबन्दी लगायतका कडा आन्दोलनका कारण २०७७ असोज १४ गते पदयात्रा तथा पर्बतिय मजदुर कल्याणकारी कोष संचालन सुझाव समिति गठन भएको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक संयोजक रहेको उक्त समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बिभाग, सामाजिक सुरक्षा कोष, नेपाल राष्ट्र बैंक, युनिट्राभ लगाएत विभिन्न ट्रेड युनियनहरु र पर्यटन मजदुर संघर्ष समितिका अध्यक्ष सहितको १३ सदस्यीय सुझाव समिति बनेको थियो ।
उक्त समितिमा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान), एभरेस्ट समिटर्स एसोसिएसन, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ-निटोग, नेपाल माउन्टेन लिडर एसोसिएसनलाई भने समेटिएको छैन ।
उक्त समितिले एउटा निश्चित सेक्टरका मजदुरका समस्या मात्र हेर्ने र सम्पुर्ण साहसिक तथा अन्य पर्यटकीय क्षेत्र संबद्ध श्रमिकलाई उपेक्षा गरेको भन्दै नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघका अध्यक्ष रामकाजी तिवारी “प्रयास” द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा बताइएको छ।


