
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा बाहिर चर्चामाआएको मन्त्रिपरिषद पुनर्गठनको विषय भने प्रवेश नै नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले प्रधानमन्त्रीबाट मन्त्रिपरिषदको विस्तारका बारेमा कुनै जानकारी नआएको बताए । ‘त्यसबारे आजको बैठकमा कुनै छलफल भएन । कहिले पुनर्गठन हुन्छ भनेर बैठकलाई कुनै जानकारी पनि दिइएन,’ प्रवक्ता श्रेष्ठले भने । बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल भएको उनले बताए ।
साथै सचिवालय बैठकले डा. गोविन्द केसीलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासको अवस्थामा तत्कालका लागि अनशन अन्त्य गर्न अनुरोध गरेको छ । बैठकले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।