कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन

-


     मर्दी न्युज    
     असाेज २३ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा ९९ वर्षका उमेरमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे निधन भएको हो ।

प्रसाईं श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

विसं १९७८ माघ १५ गते जन्मिएका उनी पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित भएका थिए । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसाइँ निर्वासनबाट स्वदेश फर्किएका हुन् ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा स्वतन्त्र उम्मेद्वारबने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनी पराजित भए ।

पछिल्लो समय भने उनले नेपाली कांग्रेस परित्या गरेका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेको भन्दै उनले पार्टी छोडेका थिए ।

प्रसाईंकी पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् ।