
यही अक्टोबर १७ तारिख (कार्तिक १ गते, २०७७) देखि ट्रेकिङ तथा पर्बतारोहण र समग्र पर्यटन खुल्लागर्ने नेपाल सरकारको निर्णयले थोरै मात्रामा भएपनि गाइड तथा श्रमिकबर्गमा उत्साह तथा सकारात्मक उर्जा थपेको छ। पोखरालाई कर्मथलो बनाएर पर्वतीय पर्यटन (ट्रेकिङ तथा पर्वतारोहण) मा कामगर्दै आएका, यात्रा असहज हुनाले आफ्नो थातथलो फर्कन नपाएका थुप्रै ब्यक्तिहरुलाई दैनिक जिवनयापन समेत कष्टकर बनेको छ ।
यही परिप्रेक्ष्यमा पोखरामा रहेको अग्रणी सामाजिक संस्था कर्म फ्लाइट्स फाउन्डेसनले पर्वतीय पर्यटन श्रमिकलाई लक्षित गर्दै “खाद्यान्न को लागि काम” कार्यक्रम ल्याएको छ। सो कार्यक्रममा पोखरा आसपासका रमणीय स्थलसम्म पुग्ने पैदलमार्ग सरसफाइ तथा जिर्णोद्दार, नकुहिने किसिमका फोहोर संकलन गरि उचित ब्यबस्थापन लगायतका कामहरु पर्दछन ।

यही असोज १० गते पोखरा महानगरपालिका वडा नं १८ को सेदि देखि सराङकोट पदमार्ग सरसफाइ गरेको ३१ जनाको सो टिमले असोज १७ गते शनिबार पोखराको पार्दी स्थित ड्यामसाइड-रानिबन-शान्तिस्तूप-अनदु तथा तालपारी टिपिकल भन्ने स्थानसम्म लगभग ५ किमि पैदलमार्ग सरसफाइ गरि अन्दाजी १०० किलो फोहोर संकलन गरि उचित ब्यबस्थापन गरेको थियो ।
हिजो असोज २४ गते शनिबारको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ को लेकसाइड, जरेवर बाट सुरुगरि वडा नं १८ को मेथलाङ्ग- ग्यारजाती-रास्ट्रीय बिभुती तथा सहिद पार्क हुँदै वडा नं ५ को लभ्ली डाँडा, पर्स्याङ्ग सम्म सरसफाइ गरिएको थियो। मेथलाङ्ग र ग्यारजाती बीचको रमणीय स्थलहरु मा अत्यन्तै फोहोर गरेको पाइयो ।

प्लास्टिकमा प्याकिङ भएकोे खाना तथा खाजाका खोलहरु, बियर र अन्य अल्कोहल पेय पदार्थको बोत्तल र क्यानहरु, प्रयोग गरेर फालेको मास्कहरु, मिनरल वाटरको बोत्तलहरु नै मुख्य फोहोरको रूपमा संकलन गरियो । संकलित फोहोर मध्ये आठ बोरा वडानं १८ सँगको समन्वयमा आज आइतबार फोहोर उठ्नेगरि ग्यारजती रेस्टुरेन्ट छेउमा राखियो भने १५ बोरा फोहोर वडा नं ५ का वडाध्यक्ष श्री धन बहादुर नेपालीको रोहबरमा पर्स्याङ्ग चोकमा राखियो, आज आइतबार दुबैठाउँ को फोहोर पोखरा महानगरपालिका को गाडीले उठाउने प्रतिबद्धता सम्बन्धित जनप्रतिनिधि हरुबाट प्राप्त भयो ।
भर्खरै मात्र बिश्व पर्यटन दिवस मनाएको सन्दर्भ, यसपटकको नारा “पर्यटन र ग्रामीण बिकास” लाई मनन गर्दै अन्य बैकल्पिक पेशा केही नभएका गाइड तथा श्रमिकहरु लाई थोरैमात्र भएपनि घरखर्च तथा बच्चाहरुको स्कुल फि, आउँदै गरेको महान चाडपर्वमा गाउँ फर्किने बाटोखर्च इत्यादी मा टेवा पुगोस् भनी नगद प्रोत्साहन भत्ता बितरण गरिएको थियो। प्रतिब्यक्ती एकहजार चारसय रुपैयाँको दरले कार्यक्रमको अन्त्यमा बितरण गरिएको थियो ।
ट्रेकिङ विथ पर्पोज अस्ट्रेलियाको आर्थिक सहयोग तथा पोखरा महानगरपालिका वडा नं १८ र ५ को संयोजनमा गरिएको तेस्रो हप्ताको सरसफाइ कार्यक्रमको समापनको अबसरमा प्रमुख अतिथिको रूपमा वडा नं ५ का वडा अध्यक्ष तथा पोखरा महानगरपालिका का प्रबक्ता श्री धन बहादुर नेपालीले आयोजक कर्म फ्लाइट्स फाउन्डेसन तथा सम्पुर्ण सहभागीहरु लाई धन्यवाद दिदै कोरोना को कारण रोजगारी गुमाएका सयौं मजदुरहरु लाई आफ्नो वडामा राहत बितरण गरेको स्मरण समेत गर्नुभयो । वडा कार्यालय मार्फत शृजनाहुने रोजगारी मा आफू हातेमालो गर्न तयार रहेको र पर्यटन मजदुरहरु लाई प्राथमिकता मा राख्ने बताउनुभयो ।
शुभकामना मन्तव्यको क्रममा वडा नं ५ का वडा सदस्य अन्जु क्षेत्रीले प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरामा मानवीय गतिविधि र आनिबानि का कारण फोहोरमैला बढेको बताउँदै सरसफाइमा लागेका गाइड तथा सहयोगीहरु बधाई का पात्र भएको बताउनुभयो ।
सरसफाइ कार्यक्रममा सक्रियता साथ फिल्डमै खटिएका कर्म फ्लाइट्स फाउन्डेसनका कार्यक्रम संयोजक राजु परियारले आगामी दिनमा पनि यस्तो कार्यक्रम ल्याउन प्रयत्न गर्नेकुरा बताउनुभयो । यो कार्यक्रमले आफूलाई ठूलो राहत पुगेको सहभागीहरु मध्ये सुब्बा तामाङले बताउनुभयो ।

