२४ घण्टामा २ हजार ७१ जना कोरोना संक्रमित, १ हजार ५ सय ५२ जना संक्रमण मुक्त

-


     मर्दी न्युज    
     असाेज २५ गते २०७७ मा प्रकाशित


पोखरा, २५ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आईतवार नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आईतवारसम्म होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३१ हजार ३ सय १५ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ११ लाख ७६ हजार ९ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी आईतवारसम्म क्वारेन्टाइनमा ४ हजार ६ सय १३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ७५ हजार ८ सय ४ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा २२ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ५ महिला र १७ जना पुरुष रहेका छन् । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।