कर्मफ्लाइट्स फाउण्डशेन नेपालको छैठौ साधारण सभा सम्पन्न

-


     मर्दी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


पोखरामा स्थापित भई सामाजिक शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील कर्मफ्लाइट्स फाउण्डेशन नेपालको छैठौ साधारण सभा सम्पन्न भएको छ । पोखरेली तथा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ पाइलट तथा शिक्षा प्रेमीहरुद्धारा सन्चालित संस्थाले हाल गण्डकी प्रदेशका तनहुँ, कास्की, गोरखा, स्याङ्जा, बाग्लुङ तथा लुम्बिनी प्रदेशको रुकुम पूर्वमा संस्थाले बालबालिका विद्यालय तथा स्वास्थ्यको क्षेत्रमा दुरदराजका जनताहरुलाई सेवा पु–याउदै आएको छ ।


कार्यक्रममा प्रमुख अतिथीको रुपमा मन्तव्य दिदै बंगलादी टोल विकास संस्थाको अध्यक्ष हरि भण्डारीले आफ्नो टोलमा रहेको संस्थाले पोखरा बाहिर थुप्रै ठाउँमा मानविय कार्य गरेको पाएको र आगामी दिनमा संस्थालाई आवश्यक परेको ठाउँमा आफ्नो नैतिक भौतिक सहयोग रहने बताए । संस्थाका सल्लाहकार शिवलाल धितालले कर्मफ्लाइट्सले आवश्यकताको आधारमा इमान्दारिता र निष्पक्ष रुपमा विभिन्न शैक्षिक सहायताका काम गरेको आफू स्वंय दृष्टान्त भएको बताउदै सेवाको भावनाले सन्तुष्टि दिने र अरुलाई पिडा दिने कामले पाप लाग्ने भएकोले मानविय सेवा नै उत्कृष्ट धर्म भएको बताए ।


कार्यक्रममा संस्थाको वार्षिक कार्य प्रगति विवरण संस्थाका अध्यक्षको तर्फबाट पेश गर्दै संस्थाका सचिवले गत आ.व. मा विभिन्न परियोजनामा रु. १ करोड ५५ लाख ३८ हजार बराबर खर्च भएको र चालु आ व २०७७-०७८ मा कार्यक्रम सन्चालन खर्च सहित १ करोड ३६ लाख ७१ हजार बराबर खर्च हुने अनुमान सहितको आगामी कार्यक्रम प्रस्तुत गरेका थिए ।


कर्मफ्लाइट्स संस्थाले गत आ.व. मा गोरखा र बाग्लुङमा २ वटा सुविधा सम्पन्न आइसिटी ल्याब, २ वटा आइसीटी ल्याबको स्थानान्तरण र मर्मत सम्भार गर्नुको साथै एक विद्यालय एक पुस्तकालय कार्यक्रम अन्र्तगत ८ वटा सामुदायिक विद्यालयहरुमा दराज र पुस्तक सहितका पुस्तकालयहरु स्थापना गरेको छ ।


संस्थाको मुख्य कार्यक्रम आफन्तजन छात्रवृत्ति परियोजना अन्र्तगत स्याङ्जा, गोरखा, बाग्लुङ, कास्की र रुकुम पूर्वका दुर्गम विद्यालयहरुमा अध्ययनरत ३६० जना अनाथ जेहेन्दार तथा विपन्न समुदायका बालबालिकालाई छात्रवृत्ति मार्फत रु ३१ लाख बराबरको शैक्षिक सामाग्री र नगद प्रदान गरिएको थियो भने निसीखोला–२ बाग्लुङमा ५२ लाख ५० हजारको लागतमा ६ कोठे पक्की भवन निर्माण ५०० जना किशोरी स्कूले छात्राहरुलाई पुनः प्रयोगजन्य महिनावारी प्याड वितरण, १७ परिवारलाई जिविकोपार्जनको लागि बाख्रा वितरण कार्यक्रम एक दिवसीय बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो ।


त्यसै गरि गोरखा जिल्लाको अजिरकोट गा.पा. र बारपाक सुलिकोट गा. पा. का हिमाली भेगमा बसोबास गरि विद्यालय जाने बालबालिकाहरुलाई लक्षित गरि न्यानो ज्याकेट वितरण गरिएको थियो जसमा जम्मा १९ वटा विद्यालयका १६०९ जना बालबालिकालाई न्यानो जकेट उत्पादन, ढुवानी र वितरण गर्दा जम्मा रु १९ लाख ९२ हजार २ सय ६२ लागत लागेको थियो । अर्को लोकप्रिय कार्यक्रम अन्तर्गत फिड फाइभ थाउजेन स्कूल हट लन्च अन्र्तगत ११ वटा विद्यालयका करिब ५०० जना बालबालिकालाई विद्यालयमै तयार गरिएको ताजा खाजा खुवाउने गरिएको छ ।


कर्मफ्लाइट्सले पोखराको स्थानीय पाइलट ल्कब, ना, वडा नं ६ र वडा नं १८ का वडा कार्यालयहरुको सम्बन्धमा निरन्तर रुपमा फेवाताल आसपास र सराङकोटमा सरसफाई कार्यक्रम गर्दै आएको चरणमा ट्रेकिङ गाइडहरुको लागि खाद्यान्नको लागि काम परियोजना अन्र्तगत ३ चरणमा पोखराको वडा नं १७ र २२ समेत संग समन्वय गरि ट्रेकिङ बाटो मर्मत तथा सरसफाई कार्यक्रम गरिदै आएको संस्थाका फिल्ड कोडिनेटर राजु परियारले बताए ।


पछिल्लो समयमा खास गरि माघ देखि कोभिड –१९ शुरु भई चैत्र ११ देखि लकडाउनको अवस्थाबारे सृजित बेरोजगारीको कारण दैनिक हातमुख जोर्न कठिन परिस्थितिबाट गुज्रिएका समुदायलाई लक्षित गरि पोखरा ६ र १८ का समुदाय, ट्रेकिङ गाइड समुदाय र बाग्लुङ अर्नाकोटमा जम्मा ४०० परिवारलाई चामल, नून, तेला जस्ता अत्यावश्यक खाद्य सामाग्री वितरण गरिएको थियो ।


गत वर्ष कोभिड–१९ को कारण लकडाउन भई आवागमनमा अवरोध भई केही परियोजनाहरु सम्पन्न हुन नसकेकोमा यो वर्ष सो लाई निरन्तरता दिइने छ भने बाग्लुङ र गोरखाका ३ वटा विद्यालयमा आइसीटी ल्याब, १ घर १ धारा खानेपानी परियोजना, विद्यालय दिवा खाजा कार्यक्रम, बन्दिपुरमा सुकुम्बासी ३ परिवारहरुलाई घरबास बनाइदिने, न्यानो जकेटका परियोजना जस्ता कार्यक्रम यो वर्ष पनि निरन्तर गरिने बताइएको छ भने कोभिड–१९ को कहर कायमै रहेको अवस्थामा संस्थाका गतिविधिलाई निरन्तरता दिन बदलिदो अवस्थामा नयां अवसरहरुका खोजी गर्ने र सामुदायिक उद्यमशीलतातर्फ अगाडि बढने सोचाइ रहेको संस्थाका उपाध्यक्ष्न लक्ष्मण बहादुर थापाले बताए । संस्थाका अध्यक्ष भुपालसिंह गुरुङको अध्यक्षततामा सम्पन्न कार्यक्रम सचिव प्रेम ब कुँवरले सन्चालन गरेका थिएं ।