नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना नयाँ कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     असाेज २९ गते २०७७ मा प्रकाशित


पोखरा, २९ असोज । पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिवार नेपालमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय २५ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बिहिवारसम्म होम आइसोलेसनमा २४ हजार १ सय ९४ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३६ हजार ५ सय ३३ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बिहिवारसम्म क्वारेन्टाइनमा ४ हजार ८ सय २५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ८४ हजार ५ सय १८ रहेको प्रवक्ता डा. गौतमले बताए ।