कोरोना संक्रमितको संख्या नेपालमा १ लाख २९ हजार ३०४ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित


पोखरा, १ कार्तिक । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिवार नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा २५ हजार ४ सय ३८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १३ हजार २ सय ९९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३८ हजार ७ सय ३७ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १२ लाख ६९ हजार ६ सय ५ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा ४ हजार ७ सय १५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ८९ हजार ८ सय ४० रहेको प्रवक्ता डा. गौतमले बताए ।