
पोखरा, २ कार्तिक । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतवार नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आइतवारसम्म होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३९ हजार ३ सय ४१ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी आइतवारसम्म क्वारेन्टाइनमा ४ हजार ८ सय ३१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार ३ सय २६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ९२ हजार ८१ सय ६६ रहेको प्रवक्ता डा. गौतमले बताए ।

