
बुधबार आयोजित एक समारोहकाबीच राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन गरेकी छन्।
भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन्। रानीपोखरीको मल्लकालीन शैलीमा नेपाल सरकारले पुनर्निर्माण गरेको हो।
पूनर्निमाणपछि रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन्।
उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले भूकम्पका कारण भएको मानवीय क्षति फिर्ता गर्न नसके पनि भौतिक संरचना भने अझ बलियो गरी निर्माण गर्ने प्रतिवद्धताले मूर्तता पाउँदै गएकोमा आफूलाई खुसी लागेको बताइन्।
‘प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु’ राष्ट्रपति भण्डारीले भनेकी छन् ।
राष्ट्रपति भण्डारीले भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना गर्ने र भूकम्पबाट क्षतविक्षत भएका साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्ने बताएकी छन् ।
भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने उनले बताइन् ।
दरबार हाइस्कुल उद्घाटन
बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको पनि उद्घाटन गरेकी छन् ।
भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याउने चीन सरकारलाई राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी छन् ।