
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
दसैं टीकाको दिन राजदूत होउले काठमाडौंस्थित चिनियाँ दूतावास प्रागंणमा रेकर्ड गरिएको रेशम फिरिरि गीत सामाजिक सञ्जाल आफ्नो ट्वीटर अकाउन्टमामार्फत सार्वजनिक गरेकी हुन्।
‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।
नेपालीहरुको महान चाड बडा दसैंको मुख्य दिन आफूले गाएको गीत सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् !’
चिनियाँ राजदूत होउ नेपालीहरुको मन जित्ने प्रयासमा अनेक क्रियाकलाप गर्दै कहिले नेपालका ऐतिहासिक पुरातात्विक क्षेत्रमा गएर फोटो सेसन गर्छिन् भने कहिले नेपाली गीतमा, नेपाली पहिरन लगाएर नाच्छिन् ।
गत वर्ष फागुनमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नेपाली गीतमा नाचेकी थिइन् ।