
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ ।
आइतबार मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सरकारी अस्पतालाई बिना धरौटी उपचार गर्न निर्देशन दिएको बताए।
मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने मन्त्रालयको निर्णय छ । यसअनुसार अस्पतालहरुले संक्रमितहरुको दैनिक उपचार शुल्क तोकेर धरौटी रकम जम्मा गर्न लगाउन थालेका छन् ।
‘सरकारी अस्पताल सबैलाई धरौटी नलिइ कोरोना संक्रमितलाई उपचार गर्न निर्देशन दिइएको, धरौटीसम्बन्धी सूचना निकाल्ने सबैलाई स्पष्टीकरण सोधिएको जानकारी गराउन चाहन्छु’, प्रेस ब्रिफिङमा प्रवक्ता शर्माले भने।
सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत रहेको पनि उनले बताए।

