सरकारको निर्णय अनुसार अब उप्रान्त देशको नाम नेपाल मात्र लेख्न निर्देशन

-


     मर्दी न्युज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित


गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ बाट नेपाल मात्र लेख्न निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रमा उल्लेख छ ।

मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ । त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले पठाएको परिपत्रमा टेकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट कात्तिक ५ गते देशभरिका ७५३ स्थानीय तहलाई निर्णय कार्यान्वयनका लागि परिपत्र पठाइएको छ ।

संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पठाएको परिपत्रमा ‘मन्त्रिपरिषदको २०७७ असोज ११ को बैठकबाट भएको निर्णय कार्यान्वयन गर्नु गराउनु हुन आदेश अनुसार अनुरोध छ’ भनिएको छ ।