
काठमाण्डौं । कोभिड–१९ को कारणले रोकिएको भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण अन्तत भोली बुधबार हुने भएको छ ।
तिन दिने भ्रमणका क्रममा सेनाध्यक्ष नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ताको कार्यक्रम राखिएको छ ।
पछिल्लो समय नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभएको अबस्थामा हुन लागेको नरवणेको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिन्ह लगाइसकेका छन् ।
भ्रमण कार्यक्रममा सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरवणेको स्वागतका गर्नेछन् । भोलिपल्ट नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गरे सँगै शितलनिबासले आयोजना गर्ने मानार्थ महारथीको दज्र्यानी चिन्ह कार्यक्रममा हुनेछन् ।
त्सस कार्यक्रम पछि जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् र आफ्ना समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि उनले औपचारिक सम्वाद गर्नेछन् । भोलिपल्ट शुक्रबार भ्रमणको अन्तिम दिनको बिहान नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् ।
त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

