कोरोनाका कारण पूर्वसभामुख महराकी पत्नी सीताको निधन

-


     मर्दी न्युज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


कोरोनाभाइरस संक्रमणका कारण पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ।

काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत ५९ वर्षीया उनको आज बुधबार बिहान निधन भएको हो।

दसैंमा गृहजिल्ला रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकी उनलाई  कात्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखिएकाे थियाे।तर उपचारकै क्रममा आज बिहान ६:२५ बजे उनकाे निधन भएको अस्पतालले पुष्टि गरेको छ।