भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

-


     मर्दी न्युज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा आज बुधबार अपरान्ह काठमाडौँ आउँदै छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे नेपाल आउन लागेको हो ।

कात्तिक १९ देखि २१ गतेसम्मका लागि तय गरिएको तीन दिवसीय भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय टोली रहने छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो स्थलसेनाध्यक्ष नरवणेलाई विशेष कार्यक्रमका बीच नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्षको शिष्टाचार भेट कार्यक्रम तय गरिएको छ । त्यसअघि उनले नेपाली सेनाका प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा अध्ययनरत शिक्षार्थी सैनिक अधिकृतहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । भारत स्वतन्त्र भएसँगै सन् १९५० बाट सुरु भएको नेपाली सेना र भारतीय सेनाबीचको ‘मानार्थ महारथी सम्मान’ आदान–प्रदान कार्यक्रम करिब ७० वर्ष अघिदेखि निरन्तर चल्दै आएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल यो सम्मान आदान–प्रदानले नेपाल–भारतबीचको सैनिक तथा कूटनीतिक सम्बन्धलाई उचाइमा पु¥याउन सहयोग पुगेको बताए । प्रधानसेनापति थापा गतवर्ष नै भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गरेका थिए। भारतमा जल, थल (स्थल) र वायु गरी तीन किसिमका सेना छन् तर स्थल सेनाध्यक्षलाई मात्र मानार्थ महारथी सम्मान प्रदान गरिँदै आएको छ ।

भारतलाई उपनिवेश बनाई शासन सञ्चालन गरिरहेका तत्कालीन ब्रिटिस सैनिक (ब्रिटिस इस्ट इन्डिया कम्पनी) शासक र नेपालका राणाबीच मानार्थ सम्मान लिने–दिने परम्परा सुरु भएको इतिहास छ । सैनिक इतिहासकार पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातका अनुसार वीर शमशेरका पालादेखि नेपाली युवालाई सरकारले नै गाउँ–गाउँमा पुगेर ब्रिटिस इन्डियाको सेनामा भर्ती सुरु गरेको थियो ।

सन् १९४७ अर्थात् वि।सं। २००४ मा भारत स्वतन्त्र भएपछि पनि सेनाको नेतृत्व गरिरहेका जनरल लर्ड माउन्ट बेटनले भारत सरकारलाई नेपालसँग जनरल पदवी आदान–प्रदानको चलन कायम राख्न सुझाएका थिए । भारत स्वतन्त्र भएलगत्तै नेपालमा पनि राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदयसँगै सन् १९५० बाट दुवै देशका सरकार प्रमुखले लिँदै आएको मानार्थ सम्मान सैनिक प्रमुखलाई दिन थालिएको जानकारी डा. बस्न्यातले दिए ।