टान पश्चिमाञ्चल क्षेत्रीय संघको चुनाव आज हुँदै

-


     मर्दी न्युज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


पोखरा, १९ कात्तिक । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराको १६औं अधिबेशन तथा २७औं बार्षिक साधारणसभा अहिले बिहान १०ः०० बजे देखि लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टको सभाहलमा हुँदैछ।

उद्घाटन सत्रको कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय संघलाई विभिन्न समयमा विभिन्न किसिमले सहयोग तथा योगदान पुर्याउने ब्यक्ति तथा संस्था हरुलाई सम्मान गरिएको थियो। जस अनुसार गत २०७६ माघमा अन्नपूर्ण आधार शिविर पदमार्गको हिमालय होटल तथा देउरालीको बीचमा पर्ने हिन्कु केभ मा हिउँपहिरोमा परेर हराएका र मृत्यु भएका स्वदेशी÷विदेशी नागरिकहरुको उद्दारमा खटिएका ब्यक्तिहरु, पर्यटन प्रहरी पोखरा लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

कोरोनाको कहरका बीच जुम मिटिङ्गमार्फत तालिम संचालन गरेकोले पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे, आर्ट अफ लिभिङका नरेश भट्टराईलगायतलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको थियो।
टान पोखरामा कार्यरत कर्मचारीहरु लाई प्रशंसापत्र तथा भर्खरै स्वेच्छिक अबकाश लिनुभएका कर्मचारी रोसबहादुर केशी लाई नगद रू १८००० सहित दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
पर्यटन पत्रकार मञ्चकी केन्द्रीय सचिव तथा लामो समय पत्रकारितामा बिताउनुभएकी जमुना बर्षा शर्मालाई टान पत्रकारिता पुरस्कार बाट नगद १० हजारसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो।

इस्टर्न लाइट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट लामो समय ट्रेकिङ गाइडको रूपमा काम गरेका म्याग्दी जिल्ला मालिका गाउँपालिका –७ दरवाङ्गका रगबहादुर रोका लाई बेस्ट ट्रेकिङ गाइड २०७७ बाट नगद रु १० हजारसहित पुरस्कृत गरिएको थियो ।

नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माण सहयोगार्थ रु ५०००० प्रदान गरिएको थियो।
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री माननीय विकाश लम्सालले पर्यटन व्यावसायिहरु का समस्यामा प्रदेश सरकार गंभिर रहेको र पर्यटन ब्यबसायनै प्रदेशको समृद्धिको आधार रहेको बताउनुभयो।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव जीवन राज सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सुशील राज पौडेलले गर्नुभएको थियो। टान पश्चिमाञ्चल क्षेत्रीय संघका पुर्व अध्यक्ष तथा सल्लाहकार टिकाराम सापकोटा र टान केन्द्रिय उपाध्यक्ष चोलेन्द्र बहादुर कार्कीले अधिबेशन सफलताको शुभकामना दिनुभएको थियो ।
आज दिउँसो हुने चुनावबाट आगामी दुई बर्ष कार्यकालमा लागि नयाँ नेतृत्व चयन गर्ने छ।