
पोखरा, १९ कात्तिक । पदयात्रा व्यवसायीहरुको संस्था ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको नयाँ कार्यसमिति चयनका लागि आज भएको निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ ।
आगामी २ वर्षका लागि प्रथम उपाध्यक्ष पदमा भएको निर्वाचनमा कडा प्रतिस्पर्धा भई धर्मराज पन्थीले १ मतको अग्रताले जितेको छ । उनको प्रतिद्वन्द्वी जीवनराज सापकोटाले ६१ मत प्राप्त गरेका थिए भने विजयी भएका धर्मराज पन्थीले ६२ मत प्राप्त गरेका थिए ।
त्यस्तै द्वितीय उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा कृष्ण आचार्यले ५४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दिवस लामिछानेले ४३ र उदय सुवेदीले ३१ मत प्राप्त गरेका थिए ।
त्यस्तै कोषाध्यक्ष पदको लागि भएको निर्वाचनमा किसमकुमारी गुरुङले ९३ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी ढाकाराम अधिकारीले ३२ मत मात्र प्राप्त गरेका थिए ।
यसैगरी सहसचिव पदमा रेशम अधिकारीले ६१ मत प्राप्त गरेर विजयी बनेका छन् भने उनका प्रतिद्वन्द्वी विश्वहाङ राईले ५६ मत प्राप्त गरी पराजित भएका छन् ।
कुल १ सय ५९ जना मतदाता रहेकोमा १ सय २९ मतदाताले मात्र निर्वाचनमा भाग लिएका थिए ।
यसअघि सदस्य पदको लागि भएको निर्वाचनमा विकास गुरुङले ७८, दीपक सापकोटाले ७८, अनिल थापाले ७५, मोहनप्रसाद सुवेदी ६५, गोपालकृष्ण संग्रौला ६४ र लक्ष्मी कोइरालाले ६३ मत प्राप्त गरी विजयी भइसकेका छन् ।
केहीदिन अघि नै अध्यक्ष पदका शुशिल पौडेल र सचिवमा मिलन तिवारी सर्वसम्मत निर्वाचित भइसकेका थिए ।

