
पोखरा, २२ कात्तिक । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् ।
राष्ट्रपति पदको निर्वाचनमा बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले सो चेतावनी दिएको बीबीसीको समाचारमा उल्लेख छ ।
ट्वीट गर्दै ट्रम्पले मतगणनाविरुद्धका कानुनी कारबाही भरखर सुरु हुन थालेको बताएका छन्। ट्रम्पले लेखेका छन्, ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । कानुनी प्रक्रिया भर्खरै शुरु भएको छ ।’
मत गणनामा धाँधली भएको भन्दै ट्रम्प र उनका समर्थकहरु अदालत गएका छन् । तर ट्रम्पले धाँधली भएको प्रमाण पेश गर्न नसकेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार एरिजोना, नेभाडा र जर्जियामा पनि बाइडनको अग्रता छ । जर्जियामा अमेरिकी सैनिकको भोटबाट ट्रम्प अगाडि आउन सक्ने अनुमान पनि लगाइएको छ ।
जर्जियामा बाइडन ४ हजार २ सय भन्दा बढी मतले अगाडि छन् । अटलान्टा नजिकको ग्विनेट काउन्टीको ७ हजार भोट गणना भइसक्दाको परिणाम हो । अझै ८ हजार ८ सय ९० मिलिटरी पोष्टल भोट गन्न बाँकी छ ।