
अमेरिकी चुनावको परिणामको व्यग्र प्रतीक्षा भइरहेको छ। छ वटा राज्यमा मतगणना भइरहेकाले अहिले नै ह्वाइट हाउसको दौड कसले जित्यो भन्ने स्थिति आइसकेको छैन।
जो बाइडनलाई राष्ट्रपति बन्न १७ इलेक्टरल कलेज मतको आवश्यकता छ। उनी डोनल्ड ट्रम्पभन्दा अगाडि छन् । कुल २७० इलेक्टरल कलेज मत आवश्यक पर्छ।
शुक्रवार राति सम्बोधन गर्दै जो बाइडनले विजय घोषणा त गरेनन् तर आफूले ‘स्पष्ट बहुमतले’ जित्ने बताए । उनले विभाजित अमेरिकीलाई एकबद्ध रहन र धैर्य गर्न आग्रह गरे, “हामी एक अर्काका विपक्षी हौँ तर शत्रु होइनौँ।”
बाइडन विभिन्न राज्यको मतगणनामा ट्रम्पभन्दा अगाडि छन् । पेन्सिलभेनियामा अहिले बाइडन २८,८८३ मत सङ्ख्याले अगाडि छन्। यहाँ अरू राज्यको तुलनामा धेरै मत गणना हुन बाँकी छ। पेन्सिलभेनिया मात्रै जिते पनि बाइडन राष्ट्रपति बन्नेछन्।
एरिजोनामा पनि उस्तै मतको अन्तर छ। बाइडनले ट्रम्पभन्दा २९,८६१ मतले अग्रता लिइरहेका छ्न । नेभाडामा बाइडन २२,६५७ मतले अगाडि छन् ।
जोर्जियामा पनि बाइडन अगाडि छन् तर जम्मा ७,२४८ मतले मात्रै। असाध्यै कम मतान्तर भएकाले त्यहाँ पुन: मतगणना गरिने अधिकारीहरूले बताएका छन् । –बीबीसी

