
फाईल फोटो
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउन यता शिकारीले मारेका चारवटा मृत गैँडा पत्ता लागेको छ ।
तीनवटा गैंडा साउनदेखि हालसम्मको समयमा र एउटा गैंडा गत आर्थिक वर्षमा मारेको भेटिएको निकुन्जले जनाएको छ । साउन यता मृत भेटिएका १२ मध्ये चारवटा गैंडा शिकारीले मारेको कुरा अध्ययनबाट खुलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
बाँदरझुला टापुमा दुई महिनाअघि एउटै समयमा तस्करको आक्रमणबाट तीनवटा गैँडा मरेको अनुमान गरिएको छ । केहीदिनअघि अर्को एउटा गैँडाको खाग विनाको अस्थिपञ्जर मात्रै फेला परेको छ । विसं २०७३ को चैतदेखि यता शिकारीबाट गैँडा सुरक्षित रहँदै आएका थिए । सन् २०१५ को गणनानुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् ।