मर्दि हिमाल आरोहणका लागि प्राविधिक कार्य सम्पन्न, गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तब्य बन्दै

-


     मर्दी न्युज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


पोखरा । इन्टरनेशनल फेडेरेशन अफ माउण्टेन गाइड एसोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एसोसिएसनका प्राविधिकहरुले ५५८७ मिटर उचाईमा रहेको मर्दि हिमालको दक्षिण पश्चिम मोहडामा रुट एक्सप्लोर गर्ने प्राविधिक कार्य आज दिउँसो सम्पन्न गरेका छन् ।

गत नोभेम्बर २ तारिखका दिन पोखराबाट निस्केको टोलीले मर्दि हिमाल आरोहणका लागि दक्षिण पश्चिम मोहडामा आरोहणका लागि आवश्यक पर्ने प्राविधिक कार्यहरु गरि दुइ वटा नयाँ रुट बनाएर आरोहण गरेका हुन् । एउटा रुट प्राविधिक रुपमा थोरै कठिन र अर्को सजिलो छ ।

आरोहण तथा प्राविधिक टोलीमा इन्टरनेशनल फेडेरेशन अफ माउण्टेन गाइड एसोसिएसनका सदस्य प्रेम गुरुङको नेतृत्वमा अनुप गुरुङ, अबिरल राई साथै नेपाल नेशनल माउण्टेन गाइड एसोसिएसनका आशिष गुरुङ, मनराज गुरुङ त्यसैगरि नोल्सका प्रशिक्षक जगन तिमिल्सिना र सरदार पासाङ रिन्जि शेर्पा रहेका छन् ।

नयाँ रुट बनेसँगै साहासिक पर्यटनमा रुचि राख्ने तथा पर्वतारोहण मन मराउने विशेष गरि स्वदेशी पर्यटकको संख्यामा बृद्धि गर्न र यस क्षेत्रको पर्वतीय पर्यटनमा नयाँ आयाम थप्नेमा महत्वपूर्ण भुमिका रहने प्राविधिक टोलीका टोली प्रमुख प्रेम गुरुङले बताउनुहुन्छ ।

यस प्राबिधिक कार्यका लागि नेपाल पर्वतारोहण संघ, संघको गण्डकी प्रदेश शाखा र होटल ट्रेकर्स प्याराडाइज एण्ड रेष्टुरेण्ट र केहि अन्य संस्थाबाट प्राबिधिक, लजिङ(फुडिङ तथा आर्थिक सहयोग गरिएको टोलीका सदस्य मनराज गुरुङले जानकारी दिनुभयो ।

नेपाल सरकारको पछिल्लो निर्णय अनुसार ५ हजार ८ सय मिटर भन्दा तलका चुलीहरुको आरोहणका लागि कुनै अनुमतिपत्र नपर्ने निर्णय भए बमोजिम यस चुलीको आरोहणका लागी आरोहीहरु थप उत्साही भएपनि छोटो र कम खर्चिलो आरोहण रुटको एक्सप्लोर नभएर झनै ओझेलमा परेको थियो ।

कुनै समय मर्दि हिमाल आरोहण गर्न जाने पर्यटकले क्याम्पिङ पदयात्रा गर्ने यो रुट पछिल्लो समय टि हाउस पदयात्राले प्रसिद्धी कमाएको छ । शहरबाट नजिकैको स्थानमा छोटो समयमा उचाईमा पुग्न सकिने तथा हिउँदका दिनमा हिउँमा पनि रमाउन सकिने यस क्षेत्रको बिशेषता रहेकोमा मर्दि हिमालको आरोहण रुट एक्सपोलरले पर्यटकहरुलाई नौलोपन दिनेमा शंका नरहेको मर्दि हिमाल क्षेत्रका पर्यटन ब्यबसायी, अभियन्ता तथा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका सचिब सुदिप गौतम बताउनुहुन्छ ।

कोभिडले गर्दा सुस्ताएको पर्यटनमा प्राबिधिकहरुले बिभिन्न कठिनाइका बाबजुद पनि यस कार्यलाई सफल बनाई पर्वतीय पर्यटनमा स्वदेशी र बिदेशी पर्यटकहरुलाई पर्वतारोहण हब जगाउन गरिएको कार्य सर्हानिय रहेको छ र यस कार्यले यस क्षेत्रको पर्वतीय पर्यटनमा थप टेवा पुर्याउने बताउनुहुन्छ नेपाल पर्वतारोहण संघका महासचिब कुल बहादुर गुरुङ ।

यस क्षेत्रका पर्वतीय पर्यटन ब्यबसायीहरुलाई मर्दि हिमाल आरोहण बारेमा अन्तरक्रिया कार्यक्रम तथा प्राविधिकहरुको सम्मानमा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले यहि आउँदो नोभेम्बर १२ तारिखमा एक कार्यक्रम गर्न लागेको प्रदेशका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिनु भयो ।

पदयात्रामा मात्रै सीमित नभएर आन्तरिक पदयात्रीहरु पनि साहसिक खेल हिमचुचुरा आरोहणमा पनि आकर्षित हुँदै गैरहेका छन् । कम लागत र कम समयमा आरोहण गर्न सकिने आरोहिहरुको चाप बढाई रोजगारी र व्यापार बृद्धि गर्न सकिने प्रचुर संभावना भएकोले दक्षिण-पश्चिम रुट एक्स्प्लोर गर्नु एक अपरिहार्य कार्य थियो र त्यसलाई मुर्तरुप दिइएको टिमका सदस्य अबिरल राई बताउनुहुन्छ ।

हिमाल आरोहण भन्ने बित्तिकै विदेशी पर्यटक तथा अति टाढाको गन्तब्य भनेर दिमागमा झट्ट आउने परिप्रेक्ष्यमा स्वदेशी पर्यटकका लागि र शहरको नजिकैको स्थानमा गर्न लागिएको यस किसिमको कार्यले यस क्षेत्रको पर्वतीय पर्यटनमा कोशेढुङ्गा साबित हुने विश्वास गर्न सकिन्छ ।

गण्डकी प्रदेशमा ¥याफ्टिङ, प्याराग्लाईडिङ, बन्जिजम्प, हट बेलुन, जिप फ्लायर, साइकलिङ सँगै पर्वतारोहण पनि थपिएकोले प्रदेश साहसिक खेलहरुको गन्तब्य बन्दै गएको छ ।

फोटोहरुः मर्दि हिमाल आरोहण प्राबिधिक टिम