
पोखरा, २४ कात्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले यसपटकको देउसी भैलो कार्यक्रममा रोक लगाएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै प्रशासनले देउसी भैलो र आतसबाजी, पटाका, भुइँचम्पालगायतको विष्फोटजन्य पदार्थको ओसारपसार, बिक्री एवं प्रयोगमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार ५ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो।
त्यस्तै, चाडपर्व मनाउँदा सकेसम्म आफ्नो परिवारका सदस्यबीचमामात्रै मनाउन अनुरोध गर्दै प्रशासनले व्यापारिक क्षेत्रमा भीड नगर्नसमेत अपील गरेको छ ।
यसैगरी, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार कोभिड संक्रमणबाट बच्न मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायतका नियमलाई पूर्ण पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।
सूचना अवज्ञा गर्नेलाई प्रशासनले संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले विज्ञप्तीमार्फत बताएका छन् ।
