३८ थान मोबाइलसहित एक जना पक्राउ

-


     मर्दी न्युज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


काठमाडौं, २४ कात्तिक । काठमाडौं नागार्जुन नगरपालिका–३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ५ ख २२८७ नम्बरको बसलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा लुकाई ल्याउँदै गरेका उक्त मोबाइल फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त मोबाइलहरु श्रेष्ठको रहेको खुलेपश्चात महानगरीय प्रहरी वृत्त थानकोट र उक्त प्रभागबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

बरामद मोबाइलसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सानो गौचर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।