
काठमाडौं । भाइटीकाको दिन रानीपोखरी खुला हुने भएको छ। भर्खरै पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी यस वर्षको तिहारमा सर्वसाधारणका लागि खुला गर्न काठमाडौं महानगरपालिका र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबीच सहमति भएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र महानगरका मेयर विद्याशुन्दर शाक्यबीच मंगलवार भएको छलफलपछि मंसिर १ गतेका दिन रानीपोखरी खुला गर्ने सहमति भएको हो।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिने भएको जानकारी दिए ।
पुनर्निर्माण सम्पन्न भएपछि कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। २०७२ सालको भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानीपोखरी लामो समयसम्म बन्न सकेको थिएन।
“मन्दिर खुल्ला गर्ने तर बढी भीडभाड हुँदा फेरी कोरोना संक्रमणको डर पनि बढी हुन्छ। भीडभाड कम हुने गरी भक्तजनका लागि खुल्ला हुन्छ,” मेयर शाक्यले भनेका छन्।
दिदीबहिनी नहुनेले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर पूजा एवं दर्शन गर्ने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ।