
सन थापा,
जापान । नोभेम्बर १२
जापानमा बिहीबार हालसम्मकै उच्च १ हजार ६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । अगस्ट ७ मा १ हजार ६ सय पाँच जनाको रेकर्डलाई तोड्दै आज उच्च संख्यामा संक्रमण पुष्टि भएको हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २८ जना पुगेको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ६ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ८ सय ८६ जना पुगेको छ । आज टोकियो, मियागी र होक्काईदोमा दुई(दुई, साईतामा, ओकिनावा, आओमोरी र खानागावा प्रान्तमा एक(एक गरी १० जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री योसिहिदे सुगाले आर्थिक पुनरूद्दार मन्त्री निसिमुरा र स्वास्थ्य, श्रम तथा कल्याणमन्त्री तामुरालाई कोरोना संक्रमण तीब्र रूपमा फैलन नदिन प्रान्तहरूमा समन्वय र सहकार्य गरी काम गर्न निर्देशन दिएका छन् । आज साँझ बसेको बैठकमा भएको छलफलपछि प्रधानमन्त्री सुगाले प्रान्तहरूको सहकार्यमा राष्ट्रिय सरकारको भूमिका खेल्नु पर्ने भन्दै उक्त निर्देशन दिएका हुन् ।
एनएचकेका अनुसार संक्रमितमध्ये ९ हजार ७ सय ९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय २६ जनाको अवस्था गम्भीर रहेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ३ सय ९३, होक्काईदोमा २ सय ३६, ओसाकामा २ सय ३१र खानागावामा १ सय ४७ र आईचीमा १ सय ४३ जना थपिए भने अन्य आठ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।