मर्दी हिमाल आरोहण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


नेपाल पर्वतारोहण संघको तत्वावधान तथा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको आयोजनामा मर्दी हिमाल आरोहण तथा त्यससंग संबंधित साहसिक पर्यटनका बिबिध आयामहरुका बारेमा सरोकारवालाहरु बीच एक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैरो पोखरा को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पोखराबाट एकदमै छोटोदुरिमा तथा माछापुच्छ्रे को काखमा रहेको ५५८७ मिटर अग्लो मर्दी हिमालको दक्षिण पश्चिम मोहोडाबाट आरोहण मार्गमा संकेत चिन्हहरु लगाउने, डोरी टांग्न प्रयोग हुने एंकर तथा रक पिटोन्स हरुलाई ड्रील गरेर फिक्स गर्ने लगायतका सम्पूर्ण प्राबिधिक कामहरू सकेर हिजोमात्र पोखरा फर्केको आरोहीहरुको प्राबिधिक टोलि, पोखराका पर्वतिय पर्यटनमा आबद्ध ब्यबसायिहरु, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका सदस्य कम्पनीहरुका संचालकर निर्देशकहरुको उपस्थिति थियो।

लमजुङ जिल्लाको इलमपोखरी स्थायी ठेगाना भइ लामो समय देखि पर्वतारोहण प्रशिक्षकको रूपमा काम गर्दै आउनुभएका IFMGA आबद्ध प्रेम गुरुङको नेतृत्वमा गएको प्राबिधिक टिममा पोखरेली सगरमाथा आरोही तथा नोल्स प्रशिक्षक जगन तिमिल्सिना, लमजुङकै अर्का आरोही तथा दीगो पर्वतीय पर्यटनका अभियन्ता मनराज गुरुङ, आशिष गुरुङ, एस्पिरेन्ट गाइड अबिरल राई, पासाङ रिन्जी शेर्पा, अनुप गुरुङ लगायतका अन्तर्राष्ट्रिय स्तरका गाइड तथा आरोहीहरुले गरेको उक्त कार्यको सरोकारवालाहरुले प्रसंशा गर्दै यस क्षेत्रको साहशिक पर्वतीय पर्यटनमा टेवापुग्ने बिश्वास व्यक्त गरे।

श्रब्यदृष्यको माध्यमबाट गरिएको कामको प्रस्तुतिले सबैको ध्यानाकर्षण गरेको थियो।
प्राबिधिक टिमलाई धन्यवाद ज्ञापन गर्दै बिशेष अतिथि नापी कार्यालय, पोखराका प्रमुख तथा नेपाल सरकारले गठन गरेको सगरमाथाको उचाई मापन टोलि नेता सगरमाथा आरोही खिमलाल गौतमले फ्रेन्च नागरिक मौरिस हर्जोगले लेखेको एउटा पुस्तकका कारण हाम्रो पर्यटनले फड्को मारेको बताउदै हाम्रै आगनको मर्दी हिमाललाई उचित रूपमा प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो।

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका पुर्व अध्यक्ष जिवनराज सापकोटाले प्राविधिक टोलिलाई धन्यवाद दिदै प्रदेश सरकारले नेपालको मौलिक साहसिक पर्वतीय पर्यटनको बिकासमा जोड दिनुपर्ने बताउनुभयो।

पोखरा पर्यटन परिषदका कार्यवाहक अध्यक्ष गोपिबहादुर भट्टराईले शाहशिक पर्यटन र खेल पर्यटनलाई बिकास गर्दै जानुपर्ने, संरक्षित क्षेत्रभित्र जथाभावी संरचना बनाउन रोक्नुपर्ने, फ़ोहोरमैला तथा ध्वनि प्रदुषण रोक्नुपर्ने बताउनुभयो।

१२ दिन लगाएर गरेको प्राबिधिक कामको दौरान मर्दी हिमाल हाइक्याम्प (क्यु) स्थित होटल ट्रेकर्स प्याराडाइजका संचालक तथा मर्दी ट्रेक पर्यटन ब्यबस्थापन तथा ब्यबसायी समितिका संस्थापक अध्यक्ष सुदिप गौतमले स्थानीय रूपमा खाना तथा आवास र आबस्यक लजिस्टिक सहयोग पुर्याउनु भएकोले टोलिनेता प्रेम गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्रालय गण्डकी प्रदेशका निमित्त सचिव रामकाजी श्रेष्ठले सरकारको मात्रै मुख नताकी निजिक्ष्रेत्र ले पनि पर्यटन प्रबर्द्धनमा लाग्नुपर्ने र उचित योजना सहित आएमा आफुले सदा सहयोग गर्ने बताउनुभयो।

अन्तर्कृया कार्यक्रममा सक्रियता पुर्वक सरिक हुनेमा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका सदस्यहरु,टानका नवनिर्वाचित अध्यक्ष सुशील राज पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण आचार्य, पर्यटन ब्यवसायी उदय सुवेदी, चन्द्रबहादुर भुजेल , बिश्वहाङ्ग राई , मोहन सुवेदी लगायत हुनुहुन्थ्यो।

आरोहीहरु लाई पुष्पगुच्छा द्वारा स्वागत र संमान गरिएको उक्त कार्यक्रम को संचालन सचिव सुदिप गौतम, स्वागत मन्तव्य कोषाध्यक्ष बिकाश गुरुङ तथा सभापतित्व अध्यक्ष शेषकान्त शर्माले गर्नुभएको थियो। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका कार्यकारी निर्देशक शंकरबहादुर गौतम तथा कार्यरत कर्मचारीहरुले कार्यक्रम सफल बनाउन ठुलो सहयोग पुर्याएका थिए।