नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ

-


     मर्दी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट नक्कली नोट छाप्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन्।

नक्कली नोट छाप्ने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

केही दिन अघि देखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अवस्थामा फेला पारिएको एपीएफले जनाएको छ।

एपीएफ टोलीले त्यसबेला एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ।पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि प्रहरीमा बुझाएको छ।