आज काग तिहार

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर कागको पूजा गर्ने चलन रहि आएको छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको बताए । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।