जयनगर–कुर्था रेलमार्गको लिकमा रहेको क्लिप चोरिए

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


काठमाडौं । निर्माण सम्पन्‍न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ ।

३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ। तर, औपचारिक उद्घाटन अझै हुन सकेको छैन्। धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । तर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन् ।

रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्‍ने गरेको बताइन्छ । एउटा क्लिपमा आधा केजीभन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सयभन्दा बढी क्लिप चोरी भएका छन् ।

धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुनसक्ने स्थानीयको भनाइ छ । दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेट अहिले सुरक्षित राखिएका छन् ।