
फाइल तस्बिर
तिहारका बेला नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव परेको रहेको जनाएको छ । जसका कारण गण्डकीदेखि पश्चिमका प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ । साथै ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनीसमेत जारी गरेको छ । ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानः
कार्तिक ३० गते (आइतबार)
दिउँसोः कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
मंसिर १ गते (सोमबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
मंसिर २ गते (मंगलवार)
दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली तथा भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको पहाडी भूभागमा आंशिक बदली तथा भूभागमा मौसम सामान्यतया सफा रहनेछ।