
आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।
यमपञ्चकको पाँचौं दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदै छन्।
‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित मुहूर्तको समय उत्तम छ। भाइटीका लगाउन मध्याह्न हुनुपर्ने भएकाले यो समय निकालिएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले भने।
तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने आम धारणा छ । सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार पनि गरिएको पाइन्छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् ।
तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ । शास्त्रीय मान्यताअनुसार तिहारमा सप्तरंगी नभई पञ्चरंगी टीका लगाउनुपर्छ । भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको अध्यक्ष गौतमले बताए ।
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ । अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् ।
त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।