
एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध बनाइ राखिए ‘थप मानिसहरूको ज्यान जान सक्ने’ चेतावनी दिएका छन्।
बीबीसीका अनुसार डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुनः आह्वान गरे। यही नाभेम्बर ३ तारिख सम्पन्न राष्ट्रपति चुनावमा बाइडेनले बहुमत ल्याइसकेका भए पनि धाँधली गरेर जितेको भन्दै ट्रम्पले आफ्नो हार अझै स्वीकार गरिरहेका छैनन्। बरु ‘धाँधली’विरुद्ध अदालतमा मुद्दा हालेका छन्।
राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्ने भए पनि बाइडेनले ३०६ मत प्राप्त गरिसकेको सञ्चारमाध्यमले प्रक्षेपण गरेका छन्।
तर पनि सोमबार ट्रम्पले ट्विट गरे, ‘चुनाव मैले जितें।’ यसबीच अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले समेत सामाजिक सञ्जालमा चेतावनी दिएकी छन्, ‘यो कुनै खेल होइन।’
राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडन र उनकी चुनावी साथी कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन।
डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु भएको बताएका छन्।
सोमवारको आफ्नो मन्तव्यमा बाइडनले भने– ‘यदि हामीले सहकार्य गरेनौँ भने अझ धेरै मानिसहरू मर्नेछन्। योजना बनाउन सुरु गर्नकै लागि यदि हामीले जनवरी २० सम्म पर्खनु पर्यो भने यसले हामीलाई पछि पार्छ।’

