तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

-


     मर्दी न्युज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित


पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

कास्कीको मजुवाबाट सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर मानुङ जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस बिहान साढे चार बजे दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया निता गुरुङको मृत्यु भएको व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै चालकको असावधानिका कारण दुर्घटना हुन पुगेकोमा दुःख व्यक्त गर्दै सडक निर्माणाधीन अवस्थामा रहेको हुँदा सबैले आ-आफ्नो तर्फबाट सावधानी अपनाउन अनुरोध गरिएको छ ।

हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि चालक झरेर यात्रु झार्न लाग्दा असावधानीबस ब्याक भएर करिब ६ सय मिटर तल खसेको जनाइएको छ ।

दशैंयता पर्यटकहरुको अत्यधिक भीड भएपछि व्यास नगरपालिकाले आगन्तुकहरुको कोटा तोकिएको थियो ।