पोखरा महानगरद्वारा आज सार्वजनिक विदा, आइतबारदेखि बिहीबारसम्म अत्यावश्यक कामबाहेक अन्य सेवा बन्द

-


     मर्दी न्युज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


पोखरा, ५ मंसिर । पोखरा महानगरपालिकाले आज छठ पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै सूर्यको उपासना गरिने छठ पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाइएको छ ।

महानगर प्रमुख मानबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा महानगर र मातहतका सम्पूर्ण वडाहरु, नगरभित्रका शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रमा सार्वजनिक विदा लागू हुने जनाइएको छ ।

त्यस्तै महानगरले अत्यावश्यक कामका सेवाहरु बाहेक महानगर र मातहतका वडाहरु एक हप्तका लागि बन्द गरिएका छन् । बिहीबार बसेको कार्यपालिका बोर्ड बैठकले महानगरपालिकाका अधिकांश शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

विज्ञप्तिअनुसार मंसिर ७ गतेदेखि १२ गतेसम्म सीमित कर्मचारी मात्र कार्यालयमा उपस्थित भएर अत्यावश्यक सेवा प्रवाह गर्नेछन् । अधिकांश कर्मचारी कोरोना संक्रमित र संक्रमितको ट्रेसिङमा परेका कारण विदा गर्नुपरेको महानगरले जनाएको छ ।