भोलिबाट पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुल्ने

-


     मर्दी न्युज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित


पोखरा, ८ मंसिर । कोभिड–१९ महामारीका कारण ८ महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय भोलिदेखि खुला हुने भएको छ । गत चैतदेखि संग्रहालयको प्रदर्शनी कक्ष बन्द थियो भने प्रशासनिक कामहरु सञ्चालन भइरहेको थियो ।

गत कात्तिक २४ गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी मंसिर ५ गतेदेखि संग्रहालयलगायत पर्यटनसँग सम्बन्धित सेवा र कार्यहरु संचालन गर्न पाउने निर्णय गरेको थियो ।

संग्रहालय संचालनका लागि नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्षको पत्र प्राप्त भएको र सोही अनुसार भोलि मङ्सिर ९ गतेदेखि प्रदर्शनी कक्ष खुला गरिएको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका कार्यकारी निर्देशक शंकरबहादुर गौतमले जानकारी दिएका छन।

संग्रहालय अवलोकन गर्नुअघि पर्यटकले हात धुनु पर्नेछ भने मास्क र भौतिक दुरी अनिवार्य गरिएको छ । एक पटकमा बढीमा २५ जना पर्यटकले संग्रहालयको प्रदर्शनी कक्षमा जान पाउनेछन् ।