
तस्बिरः संजीव आचार्य
चराको स्वर्ग भनेर विशिष्ट पहिचान बनाएको कोशीटप्पु वन्यजन्तु आरक्षमा पहेंलोठूँडे कलहाँसको प्रथम अभिलेख गरिएको छ । पंछीविद तथा कोशी पंक्षी समाजका अध्यक्ष संजीव आचार्यले पंछी अबलोकनका क्रममा यो नयाँ प्रजातिको चरा पत्ता लगाएका हुन् । यस अघि आरक्षमा चराको संख्या ५३० थियो ।
नेपालको मात्र नभई भारतीय उपमहाद्धिपकै फिरन्ते यो प्रजाति नेपालमा पहिलो पटक चितवनको राप्ती खोलामा कार्ज हलबर्गले सन् १९८५ मा चखेवाचखेवीको झुण्डमा एउटा मात्र भेटेका थिए । त्यसैगरि पिटर सिउरिन र रोबर्ट रोबर्टसले त्यहि सालको अन्त्यमा यस प्रजातिको सोहि क्षेत्रमा अभिलेख गराएका थिए ।
त्यसै गरि सन् १९९२ र सन् २०१० मा नारायणी नदीमा एक, सन् २००४ मा चितवन राष्ट्रिय निकुञ्जमा एक, फेवा सिमसारमा सन् २०१६ मा एक र सन् २०१७ मा जगदिशपुर जलाशयमा एउटा मात्र देखिएको बरिष्ठ पंछीविद हेमसागर बराल बताउनु हुन्छ ।
अत्याधिक जाडो तथा हिमपात शुरु भए सँगै साइबेरियाबाट हजारौंको संख्यामा बसाइ सराइ गर्ने पंछी हरु मध्ये सिधै युरोपको यात्रा गर्ने यो प्रजाति नेपालमा बाटो बिराएर अरु हाँसको झुण्डमा नेपाल तथा भारतीय उपमहाद्धिपमा आएको तथ्यांकहरु भेटिएको छ । हिउँदे आगन्तुक चराहरुमा हाँसको प्रजाति सबैभन्दा बढि हुन्छ ।
सुपर्ण महाचील पनि कोशीटप्पुमा
पंछी अबलोकनका क्रममा कोशी पंछी समाजको टोलीले कोशीटप्पुका लागी अति विरल बटुवा प्रजाति सुपर्ण महाचीलको समेत आज अभिलेख गरेका छन् । साधरणतया समुन्द्री सतह देखि २७४५ मिटर देखि ४५७५ मिटर सम्म भेटिने यो प्रजाति हिउँदमा बिरलै तल्लो भूभाग मा झर्ने गर्दछ ।


