
बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् ।
जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो। बीबीसीले सन् २०१३ देखि यस्तो सूची प्रकाशित गर्दै आएको छ ।
सोमबार राति सार्वजनिक सूचीमा शव जलाउने प्राविधिक सपना पनि समेटिएकी हुन् । बेवारिसे शव व्यवस्थापनमा लामो समयदेखि खटिरहेका विनयजंग बस्नेतसँग मिलेर सपनाले पनि बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।

सपनासँगै यस वर्ष बीबीसीले प्रकाशित गरेको १०० महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङलगायतका विभिन्न क्षेत्रमा सक्रिय व्यक्ति रहेका छन् ।

