
महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
बालिका बलात्कारपश्चात हत्याको विरोधमा प्रदर्शनमा उत्रेका एक स्थानीयको प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि बढ्दै गएको तनाबका कारण स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।
बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको उनले बताए ।
निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन् । तर पूर्व-पश्चिम राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिएका छन् ।
बर्दिबास-१४ का शहील आलमकी ६ वर्षीया छोरी गुलाबको हत्या भएको थियो। आइतबार साँझदेखि हराएकी उनको शव हत्या गरेर बोरामा पोका पारेर फालेको अवस्थामा सोमबार राति भेटिएको थियो ।
बालिका हत्याविरुद्ध मंगलबार दिउँसो बर्दिबास चोकमा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपानेको मृत्यु भएको छ। न्यौपानेको मृत्युले स्थानीयलाई थप आक्रोशित बनाएको छ । गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बिहानै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।