रहेनन् डिएगो म्याराडोना

-


     मर्दी न्युज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित


प्रसिद्ध फुटबल खेलाडी डिएगो म्यारोडोनाको निधन भएको छ । अर्जेन्टिनाका फुटबल लिजेण्ड म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

हृदयघातको कारण उनको घरमै निधन भएको हो । मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि म्यारोडोना दुई साता अघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।

सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका उनी त्यसबेला २१ वर्षका थिए । अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जित्दा म्यारोडोना क्याप्टेन थिए। अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।

पछि उनी लागुऔषध कोकिन प्रयोग गर्न थाले । परिणाम स्वरुप १९९१ मा उनलाई फुटबलबाट १५ महिनाको प्रतिबन्ध लगाइयो । यस्तै १९९४ को विश्वकपमा पनि उनलाई लागु औषध प्रयोग गरेको भन्दै घर फर्काइयो । म्याराडोनाले सन् १९९७ मा व्यावसायिक लिग फुटबल टुंग्याएका थिए । लागूऔषध सेवनको लत निरन्तर जस्तै रहेको उनको सन् १९९७ मा तेस्रो पटक पनि ड्रग टेस्टमा पोजिटिभ पाइएपछि उनले ३७ वर्षे उमेरमा फुटबल करिअरबाटै बिट मारेका थिए ।

युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका क्लबबाट खेलेका उनी सन् २००८ देखि २०१० को विश्वकपसम्म उनी अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।

म्यारोडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । उनी लामो समय क्लब फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको रुपमा चिनिएका थिए । विश्व फुटबल महासंघले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरका रूपमा पुरस्कृत गरेको थियो ।

अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको निधनमा गहिरो दुःख प्रकट गर्दै उनी आफूहरूको हृदयमा रहिरहने जनाएको छ ।