त्रिशूलीमा बेपत्ता तीनमध्ये दुईको शव फेला

-


     मर्दी न्युज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित


चितवन । इच्छाकामना गाउँपालिका ४, नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुईजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु.१च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो । 

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका १ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो । 

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीनजना बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो । घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।