हिउँदे आगन्तुक मालक र सुनजुरे हाँस आइपुगे काठमाण्डौ उपत्यकामा

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


सुनजुरे हाँस, फोटोः सुगम ताम्राकार

पोखरा । हालै उपत्यकामा मालक हाँस र सुनजुरे हाँस ४ वर्ष पछि अभिलेख गरिएको छ । उपत्यकाको मनोहरा खोलामा मालक हाँस हिजो डिसेम्बर १ तारिख र टौदहमा सुनजुरे हाँस गत नोभेम्बर २६ तारिखका दिन देखिएको थियो ।

प्रचुर हिउँदे आगन्तुक तथा वटुवा यो मालक हाँसलाई १९ औं शताब्दीमा ब्रायन हड्सनले पहिलो पटक नेपालका लागि अभिलेख गरेका थिए । पंछी अबलोकनका क्रममा पर्यटनकर्मी तथा वन्यजन्तु फोटोग्राफर संञ्जय था श्रेष्ठ र प्रेम खम्बुको टोलीले यस प्रजातिको तस्बिर समेत लिएका थिए ।

नेपालको संकटापन्न पंछी सम्बन्धि रातो किताबका अनुसार मालक हाँस पूर्व देखि पश्चिम सम्मका भुभाग विशेष गरि कोशि टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज तथा बिसहजारीताल क्षेत्र, पोखरा उपत्यकाका तालहरु, गैडहवा ताल, जगदिशपुर जलाशय, बडैया ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अभिलेख गरिएको छ ।

मालक हाँस, फोटोः संञ्जय था श्रेष्ठ

अग्रेजीमा फेरुजिनियस डक भनिने यो प्रजाति यात्राको क्रममा समुन्द्री सतहबाट ४५७५ मिटर सम्म भेटिएको छ । उपत्यकामा यो प्रजाति सन् १८७९, १९८२, १९८८, २००४, २००६ र २०१६ मा देखिएको थियो ।

त्यसैगरि १९ औं शताब्दीमा नै ब्रायन हड्सनले पहिलो पटक नेपालका लागि अभिलेख गरेका सुनजुरे हाँस प्रसिद्ध पोखरी टौदहमा सन् २०१६ पछि उपत्यकाकै लागि तेस्रो पटक अभिलेख भएको छ ।

अंग्रजीमा रेड क्रिस्टेड पोचार्ड भनिने यस प्रजातिलाई पंछी अबलोकनकर्ता तथा वन्यजन्तु फोटोग्राफरहरु सुगम ताम्राकार, राजु तामाङ, लोजिक कृष्ण सागर, चुडामणि चौधरी र मिलन तामाङको टोलीले देखेका थिए ।

रारा राष्ट्रिय निकुञ्ज, फेवाताल, कोशी ब्यारेजमा समेत देखिने यो प्रजाति चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक अन्यत्र धेरै कम देखिएकोमा पछिल्लो समयमा जगदिशपूर जलाशय, बडैया ताल तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शिकारी तालमा प्रचुर मात्रामा देखिएको बरिष्ठ पंछीविद डा. हेम सागर बराल बताउनुहुन्छ ।