बुल्दी पुल क्षेत्रमा तनहुँ प्रशासनको निषेधाज्ञा

-


     मर्दी न्युज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित


तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल क्षेत्रमा निषेधाज्ञा जारि गरेको छ । झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेका थिए । व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको बुधबार दिउँसो १ बजे उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो ।

नेकपाको प्रदर्शनसँगै नेपाली काँग्रेस निकट नेपाल तरुणदले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गर्न लागेपछि स्थिती तनाव हुने भन्दै प्रशासनले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “तनहुँ जिल्लामा नेपाली कांग्रेस समेतको सहभागितामा २०७७ मंसिर १७ गते व्यास नपा वडा नं. १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्न लागेकोमा पूर्वाधार विकास कार्यालय तनहुँको च.न. १६७ मिति २०७७ मंसिर १८ को पत्रबाट उक्त उद्घाटन कार्यक्रम स्थगन गरिदिन अनुरोध भएको छ ।”

पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिकाको वडा नं. १ र १० मा राजमार्गमा चल्ने सवारी बाहेक गल्फुबेसी, बुुल्दीखोला पुल, घाँसीकुवा सहितका क्षेत्रमा ५ जना भन्दा बढि व्यक्ति भेला हुन नपाउने र भेला भएको खण्डमा स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

यता, कांग्रेसले भने पूर्व निर्धारित कार्यक्रम नरोकिने जनाएको छ ।