पुलमाथि राजनीतिः शक्ति प्रदर्शनका साथ रामचन्द्र पौडेलले गरे बुल्दी पुल उद्घाटन

-


     मर्दी न्युज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित


पोखरा । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको वडा नम्बर १, १० र ११ जोड्ने बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकै हातबाट तनहुँ काँग्रसले पुल उद्घाटन गर्ने अडान लिँदा बुधवार पृथ्वीराजमार्ग अन्तर्गत दमौली घाँसीकुवा सडकखण्डमा रणभूमि झैं बन्यो । प्रशासनले निषेधाज्ञा जारी गर्यो भने राजनीतिक दलले टायर बले । अश्रुग्याँस र ढुंगा हानाहान भयो । प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।

विधि र नियमकानुन मिचेर पुल उद्घाटन गर्न लागेको भन्दै युवा संघको विरोध र जसरी पनि पुल उद्घाटन गर्ने पौडेल नेतृत्वको कांग्रेसको हठका कारण बुधबार व्यास नगर तनावग्रस्त बन्न पुगेको थियो । प्रशासनले पनि तत्काल पुल उद्घाटनको कार्यक्रम रोक्न पत्र काटे पनि कांग्रेसले उद्घाटनको कार्यक्रम अगाडि बढाएपछि विरोधमा उत्रिएको युवा संघबीच झडप नै हुन सक्ने भन्दै प्रशासनको निषेधाज्ञा जारी गरेको थियो ।

तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले सरकार, प्रधानमन्त्री ओली, प्रमुख जिल्ला अधिकारी र बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा चर्को नाराबाजी गर्दै कार्यक्रम स्थलमा पुगेका थिए ।

कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शन तथा पुल उद्घाटनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारी, प्रदीप पौडेल, ध्रुव वाग्ले लगायत काठमाडौंबाट दमौली आएका छन् ।