
काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम भुक्तानीका लागि बीमा समितिलाई पुनः ताकेता गरेको छ । यसअघि ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको मन्त्रालयले आफ्नो निर्देशन कार्यान्वयन नभएपछि पुनः ताकेता निर्देशन दिंदै बिहीबार ३ दिनमै भुक्तानी गर्न निर्देशन दिएको हो।
‘कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरि दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउनु’, मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘भेरिफिकेशन गर्न बाँकी दाबीको भेरिफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी व्यवस्था मिलाउनू।’
हाल कुन–कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के–के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।
मन्त्रालयद्वारा प्रेसित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’
कोरोना बीमा गरेकाहरुले दाबी गर्दा पनि भुक्तानी नपाएको गुनासो गर्दै आएपछि मन्त्रालयले गत असोज १८ मै यससम्बन्धी दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको थियो। त्यस्तै राजस्व सचिवको कार्यकक्षमा बुधबार बसेको बैठकले पनि उक्त निर्णय कार्यान्वयन गर्न समितिलाई आदेश दिएको थियो। तर बीमा समितिले मन्त्रालयको निर्णय कार्यान्वयनमा चासो नदेखाएको भन्दै पुनः चार बुँदे निर्देशन दिएको हो।

